शनिवारको कथा -२ ( हराएको फोन )


बल्ल बल्ल आउने शनिवार नौ बजे सम्म सुत्नुपर्‍यो भन्या फोनको घण्टीले उठायो । सुत्न पनि दिएन। सन्देश आएको रहेछ । यसो हेरेँ

" मिट मी एट वसन्तपुर १० ए.एम "

ओह! हो प्याराको सन्देश रहेछ। यसो घडी हेरेको ८ बजेको रहेछ । हतार हतार गरेर उठेँ अनि नित्यकर्म पुरा गरेर फ्रेस भएँ । प्रियले भेट्न बोलाएस् अलिक राम्री भएर जाने पर्‍यो नुहाइधुवाई गरिसकेर तयार हुँदा ९:३० भइसकेछ । हतार हतार गर्दै निस्किएँ । गाडी एकदमै भिड थियो। बल्लतल्ल उभिएरै पुगेँ ।

वसन्तपुर पुगेर प्रियलाई यसो फोन गर्नुपर्‍यो भनेर खल्ती छाम्छु त मोबाइल छैन । अब यहाँ भन्दा बित्यास पनि कतै पर्छ होला त ? गाडीको भिडमा मोबाइल खस्यो जस्तो छ। ब्लड सर्कुलेसन बढेर टाउकोमा पुगे जस्तो भयो । दिमाग भारी भएर आयो । के गर्ने नगर्ने सोच्नै सकिन । थचक्क बस्न मन लाग्यो । भखरै मात्र बल्लतल्ल अलि अलि पैसा जोहा गरेर किनेको नयाँ फोन हराउँदा मन कति दुख्छ होला भनेर साध्य नै छैन। उसै त भिड हुने बसन्तपुर् त्यहाँ माथि बिदाको दिन चहलपहल निक्कै थियो , तर त्यही भिडमा एक्लो थिएँ म । कसो गर्ने होला के गर्ने होला भनेर सोच्ने सम्म हिम्मत भएन।

एक्कासि पछाडिबाट आवाज आयो
" अनु !!!"
पछाडि फर्केर हेरेँ, प्रिय आफ्नै सूरमा मुस्कुराउन्दै नजिक आइरहेका थिए । सधैँ भेट्दा मुस्कुराउने म आज केही बोल्नै सकिन न त मुस्कुराउन नै सकेँ । सायद मेरो पिडा मेरो अनुहारमा प्रस्ट देखियो होला उनले सोधे " के भयो अनु? निराश छौ त ? फोन गर्नुपर्छ नि आएर, कति फोन गरेँ किन नउठाएको ?

बिस्तारै आफ्नो पिडा सुनाएँ "फोन हरायो ! "

लौ त्यो नयाँ फोन ?

अँ, निराश हुँदै सुनाएँ ।

फोन त लाग्छ त । प्रियले फोन निकाल्दै भनेँ " पर्ख फेरी कल गरेर हेरौँ । "

फोन कति चोटि लगायौँ, तर अहँ न कुनै जवाफ आउँछ घन्टे मात्र गइराख्छ ।

गाडी भिड थियो कसैले खल्ती बात निकाल्यो कि ? मैले भनेँ

ल ठिकै छ चिन्ता नगर पुलिसमा रिपोर्ट लेखौला भेटिहाल्छ नि., बरु खाजा खाना जाउन् न ।

हैन के नभेटिए पनि केही थिएन फोन अर्को किन्थेँ तर त्यहाँ भएको राम्रो राम्रो फोटो पाए नि हुन्थ्यो । मलाई त फोटोको चिन्ता लागेर आयो क्या । अस्ति दिदीको बिहेमा सारी लगाएर खिचेको फोटो के गर्ने होला ।

चिन्ता नगर न आइ.एम.इ. नम्बर छ हैन ?

छ त्यो त डायरीमा टिपेर राखेकी छु , त्यसो भए भोलि गएर प्रहरीमा रिपोर्ट हालौँला भेटिहाल्छ नि ।

अनि भेटिने समय सम्म मेरो फोटो डिलिट गर्‍यो भने ?

केही हुन्न के चिन्ता नगर न ! फेरी खिचे हुन्छ नि फोटो ! ल हाँस म खिच्दिन्छु तिम्रो फोटो ।

ह्या नजिस्क न यार तिमी पनि । मान्छेलाई यहाँ कस्तो पिडा छ ।

म चुप लागेर बसेँ ।

भेट्ने हतारमा आफू भने खाना पनि नखाई गएको थिएँ, अब त पेट पनि बटार्न थालेको थियो। भोको पेट, मोबाइल हराएको पिडा, रिसले आँखा नदेख्ने भइसक्या थिएँ। उसले चुप- चाप ल हिँड भनेर क्याफेमा लिएर गयो।

क्याफेमा गीत घन्किरहेको थियो। चिन्ता र भोकले होला गीत पनि झर्को लागेर आयो।

"कस्तो झर्को लाग्ने ठाउँ रहेछ कतै शान्तमा जाउँ न यार।" मैले भने

त्यो कुरा क्याफेवालाले सुनेछ क्यारे गीत बन्द गरिदियो ।

चिकेन चिल्ली र चाउमिन अर्डर गरेछन् प्रियले । दिमाग तातिरहेको थियो , आँखा अगाडी झल्झली मोबाइलको झल्को आइरहेको थियो अर्डर गरेको पनि थाह पाइन ।मेरो फेवरेट बनाना लस्सी, तर आज लस्सी पनि मन परेन । न त चिकेन चिल्ली र चाउमिन नै स्वादिलो लाग्यो । खाएको र नखाएको एउटे भयो ।

आज मुभी हेर्न जाने भनेर टिकट लिएको छु १ बजेको सो जाने हैन? एकदम रिस उठिरहेको थियो , चिन्ता पनि थियो तर एक मन ले सोचेँ आखिर नहराउनु हरै हाल्यो । कमसेकम मुभी हेर्‍यो भने एकछिनलाई भए पनि तनाव त कम हुन्छ ।

त्यसपछि दुवै जना मुभी हेर्न गयौ । प्रियको ध्यान मुभी तिर थियो तर मेरो पुरै ध्यान भने मेरो हराएको मोबाइल, त्यसमा भएको फोटो अनि कन्ट्याक्टहरुमा थियो ।

कसैको हात लाग्नु अगाडी फेसबुक अनि जिमलेको पासवर्ड चेन्ज गर्नुपर्छ । के थाहा कस्तो मान्छेको हातमा पर्छ । प्यारेको फोन लिएर फेसबुक लग इन गर्न खोजेँ । नयाँ ब्राउजरबाट लगइन भएकोले एस. एम. एस गरेको कोड हाल्नुस् भन्यो। हत्तेरिका मोबाइल नै छैन कसरी हाल्ने कोड । यो पनि दुखै रहेछ। पुरै मुभी भरी के भयो कसो भयो केही कुरा बुझिन, दिमाग भारी मोबाइल हराएर तनाव थियो । घरी घरी प्रियले अँगालो मार्थे । चिन्ताले होला, आँसु झरेछ आँखाबाट, प्रियले बिस्तारै भने " मुभीमा पनि रुने ?"

एक हातले आँसु पुछेँ । जसो तसो मुभी सकियो। बाहिर निस्केपछि प्रियले भने," किन रोएकी नि ? हिरोले घर छोडेर निस्केको थियो नि । कस्तो कस्तो सिनमा नि रुन्छन् यार केटीहरू।"

मलाइ जिस्काइरहेका थिए तर म चलचित्रको कारणले रोएको हैन भन्नै सकिन। मेरो आँसुको कारण शेयर गर्न सकिन । साह्रै बुझ्झकी छन् तर बुझेछन् क्यारे, चिन्ता नगर न भेटिन्छ के तिम्रो फोन । बरु रुम हिँड आइ.एम.इ. नम्बर लिएर आजै प्रहरीकोमा जाउँ। अलिकता भए नि ढुक्कको सास फेरेँ । अनि लाग्यौ दुवैजना कोठा तिर ।

कोठामा चाबी निकालेर ताला खोलेँ अनि यसो भित्र पसेको मात्र के थियौ, फोन खाटमा पिलिक पिलिक बत्ती बालेर बसिरहेको रहेछ । हतारमा फोन बोक्ने बिर्सिएकी रहेछु। फोन देख्ने बित्तिकै खुस्को सीमा नै रहेन । बुरुक्क उफ्रिएर प्रियलाई अँगालो मार्न पुगेछु। मेरो अचानकको अँगालोले प्रिय छक्क परेर हेरे, म लाजले रातो भएँ ।


Comments

Post a Comment