किन विभेद जोइटिन्ग्रे माथी ?

हाम्रो व्याकरण यति धनी छ कि, धेरै शब्दको स्त्री सूचक र पुरुष सूचक शब्द बनाउन सफल भएको छ। यति सम्म कि कवि, नेता आदि शब्दको पनि स्त्रिलिंगी शब्द छ।सायद जोइटिंग्रेको पनि छ कि ? जोइटिंग्रे अर्थात् श्रीमतीले भनेको मान्ने, श्रीमतीको आज्ञाकारी श्रीमान्।

जोइटिंग्रेलाई नराम्रो शब्दको रूपमा हेर्ने समाजले सायद यसको स्त्रीलिंगी शब्द बनाउन भुल्यो कि? के बनाउँथ्यो यो समाजले, यो त पुरुषप्रधान समाज पो हो त। तर समाज जस्तो भए पनि व्याकरण त विज्ञान हो भन्छन्, सायद छ कि जोइटिंग्रे शब्दको स्त्री सूचक शब्द । 


मेरो बिचारमा यदि जोईको पुलिङ्ग पोइ हुन्छ भने जोइटिंग्रेको स्त्रिलिंग पोइटिन्ग्रे अथवा पोइटिंग्री हुनुपर्छ। शब्दकोषमा छ छैन मलाई थाहा छैन, न त समाजले नै बोलेको छ यो शब्द। तर ज्ञोइटिन्ग्रेलाई जति सहजरूपमा चलनमा ल्याएको छ, त्यति नै सहज वातावरणमा "पोइटिंग्री" हुर्किन पाएको छैन। हुन त शब्दको विभेदले खास विभेद जनाउँदैन। जति सम्मान पोइटिंग्रीहरूले पाउछन, जति स्याब्बासी पोइटिंग्रीहरूले पाउंछन, त्यति सम्मान जोइटिंग्रेको भाग्यमा कहाँ हुन्छ र? बिचरा जोइटिंग्रे त सबैबाट हेला पाउँछ, समाजले उपहास गर्छ, गिज्याउँछ उसलाई। तर एकातर्फा पोइटिंग्री हुनुको फाइदा गज्जबको छ, पोइटिंग्रीले सोच्दै नसोचेको स्याबासी पाउँछे। उसलाई गलत लागेको काम पनि उसले गर्नुपर्छ र सही लागेको काम पनि गर्न पाउँदिन, त्यही पनि उसले स्याबासी पाउँछे। उसले कहिले पनि पोइटिंग्री भएकोमा उपहास हुनुपर्दैन। ऊ आफू कठपुतली बनेपनि अरूको नजरमा देवी बन्छे। तर बिचरा जोइटिंग्रे श्रीमतीलाई खुसी पार्दैमा ,श्रीमतीलाई सघाउँदै उसको जुनी बित्छ। साथीहरूसँग रक्सी र तासमा अल्मलिन पनि पाउँदैन। उसले त आफ्नो परिवारलाई समय दिनुपर्छ। जोइटिंग्रे पद जोगाउन उसले के के पो गरोस् , के के नगरोस गाह्रो छ जोइटिंग्रेलाई। 

जोइटिंग्रे पतिको पत्नी हुनु भाग्य कि दुर्भाग्य सायद भोग्नेलाई थाहा होला। तर यो समाजले जोइटिंग्रे पति हुनु चैँ दुर्भाग्य नै भन्छ । दुर्भाग्य हो कि सौभाग्य हो, जोइटिंग्रेलाई सोध्नु होला। तर पोइटिंग्री हुनु उसको लागि एकदम ठुलो सौभाग्य हो। समाजले सौभाग्य कै रूपमा पोइटिंग्रीहरूलाई लिन्छ। अब समाजले भनेपछि मान्नै पर्‍यो क्यारे। पोइटिंग्रीलाई विशेष उपमा दिन्छ समाजले, सती-सावित्री, पतिव्रता, आदि, के के हो के के। ओह!, कति धेरै सम्मान, कति धेरै उपमा ! सायद जोइटिंग्रे शब्द पनि आरिसले जल्छ होला। पोइटिंग्री बन्न पाउने अहोभाग्य हुँदा हुँदै, जोइटिंग्रे किन बनाउनु आफ्नो पतिदेवलाई? किन नबुझेका होलान् यी पत्नीहरूले । किन पातिलाइ काम सघाउन लगाउनु होला।खुरु खुरु आफै गरे हुन्छ नि, आफै सबै थोक गर्ने श्रीमानलाई, सासुससुरालाई खुसी पारेर राखे हुन्छ हुन्छ नि। आखिर दुई दिनको चोला न हो, किन आफ्नो स्वास्थ्यको ख्याल गर्नु, बिरामी नै भए पनि काम गरे भयो त ? आखिर मर्नु त छँदै छ एक दिन, किन सघाउन लगाउने श्रीमान्लाई? किन बनाउने श्रीमानलाई जोइटिंग्रे ? किन नबन्ने आफू पोइटिंग्री? 

व्याकरणविदहरू, कृपया जोइटिंग्रे जस्तै पोइटिंग्री भन्ने शब्द पनि शब्दकोषमा थप्नुहोस, ता कि जोई र पोइ दुवै शब्दले न्याय पाउन्। जोई शब्दमा मात्र किन प्रत्यय लगाउने? पोइ शब्दमा पनि टिन्ग्रे जोड्नु पर्यो। जोई र पोइलाई एकै रथका दुई पांग्रा भन्ने हो भने एउटालाई प्रत्यय दिँदा अर्कोलाई किन छोड्ने। पांग्रा त बराबर ब्यालेन्समा हुनुपर्छ नि हैन र? २१ औ शताब्दीमा आएर पनि यसरी जोई र पोइमा विभेद हुन्छ भनेर हामीले कसरी सोच्नु? महिला र पुरुषमा कुनै प्रकारको विभेद हुनुहुन्न भनेर कानुनले भनिरहँदा किन व्याकरणविद यो शब्दमा विभेद? किन जोइटिंग्रेको स्त्रीलिंग पोइटिंग्री तपाइको शब्दकोषबाट हराएको? अब त शब्दकोशमा यो शब्द थप्ने हो कि? लौ न! व्याकरण विद्हरू, देखाइदिनुहोस मलाई जोइटिंग्रेको स्त्रीसुचक शब्द, ताकि धेरै नारीहरूको सुहाउँदो विशेषणले चिनारी दिन सकियोस्।व्याकरण विद्हरूले मेरो यो अनुरोध सुनिसकेपछि पक्कै पनि जोइटिंग्रे शब्दको स्त्रीलिंग्गी शब्द दिनुहुनेछ, शब्दको यो विभेद अन्त्य हुनेछ। 

Comments