अब राजनीतिमा युवा यसरी आउने कि ?

चुनाव रन्को समिएको छैन । अझै नयाँ नेतृत्व, विकल्पसहितको नेतृत्व, युवा नेतृत्वजस्ता विभिन्न शब्दावली जताततै सुनिन्छ । एकथरीले युवालाई अराजक र अपरिपक्व जमात भनेर उपहास गर्ने प्रयास गरिरहेका छन् भने अर्को पक्ष युवामा भएको ऊर्जा र नयाँपनले देशलाई निकास दिन सक्छ भन्ने आशयका दृष्टान्त प्रस्तुत गर्दैछन् । चुनावी परिणाम  नियाल्दा जनता अब राम्रो र सक्षम उमेदवारलाई रोज्न तत्पर हुन लागेका छन् भन्ने बुझ्न सकिन्छ । 
युवा परिवर्तनका सम्वाहक हुन् । यसैले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा युवाले राजनीतिमा चासो राख्नै पर्छ । युवाले राजनीतिक पार्टीको झन्डा बोकेर जिन्दाबाद र मुर्दाबादको नारा लगाउँदै राजनीतिक मैदानमा होमिनै पर्छ भन्ने चाहिँ हैन तर अप्रत्यक्षरूपमा भए पनि देशको राजनीति, अर्थव्यवस्था कता गइरहेको छ, देश चलाउने प्रक्रियामा के भइरहेको छ भन्ने विषयमा केही आधारभूत जानकारी राख्नै पर्छ । राजनीतिमै प्रत्यक्षरूपमा संलग्न भएर देश जनता र समाजको सेवा गर्ने उत्कट भावनाका साथ राजनीतिक यात्रा सुरु गर्ने हो भने पक्कै पनि पूर्वतयारी अपरिहार्य छ । 
राजनीति युद्धभूमि जस्तै हो । राजनीतिमा आउन चाहने, देशको लागि केही गर्छु भन्नेसँग आफ्नो जीवन त्यसमै समर्पण गर्नसक्ने आँट हुनुपर्छ । त्यसको लागि आफ्नो जीवन नै आहुति दिनु किन नपरोस् । हारिन्छ भनेर युद्ध कसैले गर्दैन । जित्नैका लागि युद्ध गरिन्छ । त्यसैले जित्नको लागि आफू पूर्णरूपले तयार हुनुपर्छ । युद्धमा विभिन्न अस्त्र प्रयोग गरिन्छ । त्यसका लागि पनि पूर्वतयारी चाहिन्छ । राजनीतिमा आउन चाहने सबैले पूर्वतयारी गर्नै पर्छ । नत्र, आफ्नो जीवन त खेर जान्छ जान्छ देश, जनता, समाज र परिवारका लागि देखिएका सुनौलो भविष्यका सपना पनि तुहिन पुग्छन् ।

के कस्ता तयारीका साथ राजनीतिक मैदानमा ओर्लिँदा उचित होला?

शिक्षा (अध्ययन): हुन त राजनितिक नेतृत्वलाई औपचारिक शिक्षाको जरुरी पर्दैन भनिन्छ तर राजनीति गर्छु भन्ने व्यक्ति अध्ययनशील भने हुनु जरुरी हुन्छ । विश्वव्यापीकरणको यस युगमा कहाँ के भइरहेको छ? विकसित मुलुकहरू कता गइरहेका छन् ? हामी कता गइरहेका छौँ ? भन्ने ज्ञान बटुल्न जरुरी हुन्छ । आज इन्टरनेटले अध्ययनको दायरा फराकिलो बनाएको छ । हामीले चाहेको सूचना, तथ्यांक सजिलै भेट्न सक्छौँ । अहिलेको समयमा राजनीतिमा आउन चाहने युवाले शिक्षालाई आफ्नो अस्त्रको रूपमा प्रयोग गर्नुपर्छ, फोस्रो कुरा गरेर, राजनीतिक भविष्य बनाउन सकिँदैन ।

अनुभव: "अनुभव" एकदमै विवादित शब्द, अझ भन्नुपर्दा युवालाई त तनावै दिने शब्द । तर तीतो यथार्थ अनुभवबिना कहीँ कतै केही पाइँदैन । अझ राजनीतिमा आउन चाहनेले त अनुभव बटुल्नै पर्छ । यसो भन्दा प्रतिवादमा एउटा तर्क आउँछ : काम गर्ने अवसर नै नदिईकन कसरी अनुभव बटुल्ने ? तर, अवसर त आफैँले निर्माण गर्न सकिन्छ नि !  राजनीतिमा आउनलाई राजनीतिक अनुभवमात्र नभएर अन्य कामको अनुभव, जीवनमा के काम गरेर के हासिल गरियो वा हार खाइयो ? यिनै विभिन्न अनुभवले राजनीतिक भविष्य अगाडि बढाउन सजिलो हुन्छ । सानो नै किन नहोस् केही कामको अनुभवले धेरै कुरा बुझाउन सक्छ । अनुभव बढाउँदै लैजाने विषय हो । यो सत्य सबै युवाले मान्नै पर्छ । एकैपल्ट प्रधानमन्त्री कोही पनि हुँदैन । अनुभवसँगै नेतृत्व क्षमता पनि बढ्दै जाने हो ।

सामाजिक संलग्नता: राजनीतिमा त्यही व्यक्ति सफल हुन्छ जसले समाज बुझेको छ । विभिन्न सामाजिक कार्यमा संलग्नता राजनीतिक व्यक्तित्व निर्माणको आधार हो । राजनीतिक नेतृत्वमा स्वयंसेवी भावना हुनु जरुरी हुन्छ ।  राजनीति पनि स्वयंसेवा नै त हो ।
नेतृत्व क्षमता : राजनीतिमा आउन चाहने युवामा नेतृत्वमा क्षमता हुनै पर्छ । उसले सानो नै किन नहोस् आफ्नो नेतृत्वको प्रदर्शन गरेको हुनुपर्छ । उसमा अरूलाई नेतृत्व गरेर अगाडि बढाउने क्षमता हुनुपर्छ । नेतृत्वमा भएको व्यक्ति हुकुम दिने राजा हैन सबैको कुरा सुनेर सही निर्णय गर्ने नेता हुनुपर्छ ।
स्पष्टरुपमा आफ्नो धारणा राख्ने कला (लेखन आदिबाट) : राजनीति भन्नेबित्तिकै राजनीतिक विचार, मान्यता आदिको विषय आउँछ । नेतामा समसामयिक राजनीतिक परिवेश बुझेर आफ्नो धारणा राख्न सक्ने कला चाहिन्छ । आफ्ना विचार लेखेर प्रकाशित गर्नुपर्छ । यसले गर्दा आफूलाई अरूबीच चिनाउन सजिलो हुन्छ । आफ्नो पनि विश्लेषण गर्ने क्षमता बढ्छ र राजनीतिक जीवनमा आइपरेका विभिन्न घटना परिघटनालाई राम्रोसँग नियालेर निचोड निकाल्न सकिन्छ  ।
स्पष्ट वक्ता: राजनीतिक नेता वा व्यक्ति भन्नेबित्तिकै हामी भाषणनै सम्झन्छौँ । नेतृत्वकर्तामा जनता सामु, जनताकै भिडलाई  सम्बोधन गर्ने वक्तृत्व कला हुनुपर्छ । आफूले बोलेको कुरा सबैले बुझ्ने गरी स्पष्टरूपमा राख्नसक्ने हुनुपर्छ ।
आर्थिक र सामाजिक दक्षता : राजनीतिमा आउन चाहनेले आर्थिक सामाजिक दक्षता पनि हासिल गर्नुपर्छ । आखिर राजनीति र अर्थ व्यवस्था एक अर्काका परिपूरक न हुन् । राजनीति गर्न चाहनेले देशको आर्थिक अवस्था कस्तो छ ? कसरी अर्थ व्यव्यस्था चल्छ ? भन्ने जस्ता देशको समग्र आर्थिक व्यवस्थाका बारेमा बुझ्नै पर्छ । यसका साथै आफूसँग भएको स्रोत साधन कहाँ कसरी उचित प्रयोग गर्ने भनेर बुझ्नु जरुरी हुन्छ  । आफ्नो परिवारको आर्थिक अवस्थाले पनि प्रभाव पर्न सक्छ । त्यसैले आफूलाई भ्रष्ट हुन नदिन, घुसखोरी वा अन्य  भ्रष्टाचारजन्य काममा नफसाउन आर्थिक क्षमता हासिल गर्नैपर्छ  ।
 सूचना सञ्चार प्रविधिमा दक्षता : अहिलेको जमाना इन्टरनेटको हो । सूचना प्रविधिको जमाना हो । राजनीति पनि त यसबाट मुक्त हुन सक्दैन । त्यसैले सूचना प्रविधिको शतप्रतिशत उपयोग गर्नलाई सूचना प्रविधि मैत्री हुनै पर्छ ।

यसका साथै, समूहमा काम गर्ने क्षमता र सामाजिक दक्षता, कोसँग कसरी व्यवहार गर्ने भन्ने ज्ञान पनि हासिल गर्नैपर्छ । यीबाहेक, आफ्नो परिवारसँग छलफल गर्नुपर्छ । राजनीतिमा परिवारको साथ भएन भने घरको न घाटको हुने अवस्था आउन सक्छ । त्यसैले परिवारको सहमतिमा युवा राजनीतिमा आउन सक्नुपर्छ । परिवारले मान्दै नमानी राजनीतिमा होमिनु हुँदैन । आफ्नो परिवारलाई प्रभावित गर्न नसक्नेले कसरी देशका करोडौं जनतालाई प्रभावित गर्न सक्ला र?
त्यसैगरी धैर्य, साहस र लगनशीलता चाहिन्छ । आज नेतृत्व गर्ने मनोकांक्षा बोकेका युवाले यी सबै विषय ध्यानमा राखेर क्षमता र दक्षता हासिल गर्दै लैजाने हो भने पक्कै पनि हामीले खोजेको जस्तो नेतृत्व पाउन सक्छौँ । अबको पुस्ता पनि तयारी नगरी राजनीतिमा आयो भने ठूलो मूल्य चुकाउनु पर्नेछ । अब जनता बुझ्ने भइसकेका छन् । 
पुराना राजनीतिक शक्तिको गढ मानिएको क्षेत्रमा नयाँ अनुहार अगाडि आइरहेका छन्  । क्षमता भएको व्यक्तिलाई जनताले हार्न दिँदैनन् । अबको पुस्ताले क्षमता हेरेर जनप्रतिनिधि चुन्छन्  र क्षमतावान् प्रतिनिधिले देशको मुहार फेर्न सक्छन् । त्यसैले विचार गरेर धैर्यपूर्वक एक पटक सोचौँ - के राजनीति मेरा लागि हो ? के म देशको भार उठाउने गहन जिम्मेवारी बहन गर्न सक्छु ? 
आफ्नो उत्तर सकारात्मक भएमात्र राजनीतिमा सक्रिय होऊँ ! 





  •  २०७४ जेठ ४ बिहीबार १३:१८:००   बाह्रखरी.com मा प्रकाशित 
  • Comments