यसरि सोचौं न.....

सम्पूर्ण संसारले ज्ञानी तपस्वी मानेका बुद्धलाई उनका श्रीमती र छोराले के भन्लान् ? अचानक दिमागमा यस्तो प्रश्न आयो । साँच्चै मलाइ माया लाग्यो । राहुल र यशोधराले के सोचे होलान् उनीहरूको आफ्नो बुबा र श्रीमान् प्रतिको दृष्टिकोण कस्तो भयो होला । जतिबेला श्रीमान् को साथ चाहिने बेला थियो, यशोधरा एक्लै भइन् । बुबालाई प्रत्येक छोराछोरीले आफ्नो उदाहरणीय व्यक्तित्व मान्छन् । तर के राहुलले त्यस्तो माने होलान् र ? । संसारलाई ज्ञानको ज्योती बाँड्दै हिँडेका बुद्धले आफ्नै छोरा लाई अन्धकारमा राखेनन् र ? राहुल त राजकुमार थिए सायद उनले त सबै कुरा पाए होलान् । तर अहिले को अवस्था सोचौं त ।
अहिले धेरै आमाबुबांहरुले साना छोरा छोरीलाई राहुल कै हालत त बनाइ रहेका छैनन् । आफ्नो ‘करियर’ को दौडधूपमा कतै साना नानीहरु अभिभावक सहितका टुहुरा त हुन पुगेका छैनन् ? हाम्रो समाज कता जाँदै छ ? के हुँदैछ यो ? सोच्ने बेला भएन र अब त ? होस्टलमा आफ्ना सन्तान राखेर राम्रो शिक्षा दिइरहेको भ्रम पालेर बसिरहने जमात कति धेरै बढेको छ । अहिले बालबालिका लाई होस्टल मा राख्नेले पछि आफू वृद्ध अवस्थामा बृद्दाश्रममा बस्न लाई मानसिक रूपमा तयार हुनुपर्छ .। सम्बन्ध के हो ? पारिवारिक माया के हो ? सबै बाट बन्चित त बनाइरहेका छैनौं आधुनिक अभिभावकहरुले ? बिरामी छोरा छोरी लाई हेर्ने फुर्सद पनि हुन्न अभिभावकलाई । के को दौडधूप हो ? कसको लागि दौडधूप हो ? केही बुझ्न सकिन्न । सायद अभिभावकहरु पनि यही कुरो नबुझेर दौड धूपमा छन् । महङगा विद्यालयमा पढाउदै मा आफ्नो जिम्मेवारी सकिएको ठान्ने अभिभावक अनि अभिभावकबाट मोटो रकम असुलेर विद्यार्थीलाई गधाझैं पेलाउने विद्यालय । लाग्छ बालबालिका जन्मिदै युद्द मैदान मा छन् अनि युद्द जित्न कडा मिहिनेत गरिरहेका छन् । आमाबा को माया बाट बन्चित हुँदै किताबको भारी बोकेर विद्यालयका कडा नियम भित्र बसेर आफू भित्र रहेको क्षमतालाई दिन-दिनै हत्या गर्न विवश बालबालिकाले भोलिको राष्ट्रका लागि के गर्लान् भनेर सोच्नु । यिनिहरु मध्य कतिपय कुलतको सिकार हुनेछन् कतिपय विदेशिनलाई एयरपोर्टमा आफ्नो फ्लाइट कुर्दै हुनेछन् अनि बचेका केही आफ्नै अभिभावकले सिकाएझैँ दौडधूपमा लाग्ने छन् । समवेदना हराउँदै जानेछ , सम्बन्ध के हो भुल्नेछन् अनि स्वार्थी बन्ने छ समाज । एकपटक सोचौं त , हामीले चाहेको त्यही हो त ? किन बालबालिका लाई समाज बुझाउन सकिरहेका छैनौं । बुद्ध जस्तै ज्ञानी बन्ने निहुँमा यहाँ कैयौँ राहुलहरु टुहुरा बनिएको किन देख्दैनौ हामी ?
बालबालिका लाई समाज को परिभाषा पनि अचेल सामाजिक शिक्षाको किताबमा मात्र सीमित भएको छ । अनि त्यही समाज को परिभाषा घोटाउदै र पेलाउदै छन् विद्यालय अनि अभिभावक आफ्ना सन्तानबाट त्यही घोटाइएको परिभाषा अंग्रेजीमा सुन्न पाएर दङ्ग छन् । त्यो बालक ले बुझेको छ वा छैन कसैलाई मतलब छैन । एक पटक समाजको परिभाषा पढ्दै गर्दा एकजना ९ वर्षीय भाइले भनेको कुरा याद आयो “दिदी सोसाइटी कस्तो हुन्छ ?” चस्स बिझ्यो साँच्चै समाज कस्तो हुन्छ । “धेरै परिवारहरू बसेको एक अर्कालाई दुख सुखमा साथ दिने हुन्छ समाज” मैले यति नै भनेँ । भाइ दङ्ग पर्यो, “आहा समाज मा बस्न पाएँ ।” समाज मा बस्न पाए त कति धेरै खेल्ने साथी हुन्थे होला है? ” उसको यो कुराले निकै भावुक बनायो । फेरि राहुल सम्झिएं । ऊ पनि त आधुनिक राहुल नै हो । समाजमै रहेर पनि उसले समाज गुमाउदै छ । समाज भनेको के हो थाहा छैन । परिभाषा त घोकेर कण्ठ पारेको छ तर अहँ उसले आजसम्म समाज देखेको छैन । मानिस सामाजिक प्राणी हो उसले पढेको छ तर सामाजिक कसरी भयो थाहा पाउन सकेको छैन । जसरी उसका अभिभावकले एकल परिवार मा बस्न पाए भनेर सोचे त्यसरी नै आज दाजु भइ दिदी बहिनी बिहिन बालक सोच्दै छ मेरा पनि दाजु भाइ दिदी बहिनी भएं । सबै सँगै बस्न पाए । दिनभरि कार्टुन मात्र हेर्न पर्ने थिएन नि !
प्रविधिको विकाससंगै एक्लिदै गएको समाज अनि इन्टरनेटको संसारमा रमाउने पुस्ता, ‘करियर’ को दौडधूपमा लागेका अभिभावक अनि अभिभावक हुदाहुँदै पनि टुहुरा बालबालिका । यही हो आधुनिक सभ्य समाज । अब नसोचे समाज झन् पछाडी धकेलिने छ । मान्छेले मान्छे चिन्ने छैनन्, मानवता हराउने छ । समाजको परिभाषा किताबमा सीमित हुनेछ । मानवता को खोल ओढ्न पनि नपुग्ने गरि मानवता हराउने छ अनि भन्ने छ प्रत्येक मानिस ले “स्वार्थी दुनियाँ” ।

Comments