हामी भूकम्प अघि नै ध्वस्त थियौँ तर अब हामी उठ्ने छौं

भूकम्प आयो, हल्लायो जमिन, भत्कायो संरचना। एक किसिमले हेर्ने हो भने सबै तहसनहस नै बनायो। बिनाशको एउटा पाटो त छँदैछ तर अर्को पाटोबाट हेरौं त, के यो हाम्रो सुरुवात गर्ने बेला हैन र? हो, हाम्रो देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ निकै अगाडिदेखि।

२००७ सालदेखि पलाएको एउटा आशाको त्यान्द्रो पटकपटक भत्किँदै पलाउदै अनि फेरि भत्किँदै गइरहेको छ। २०४६ सालको जनाअन्दोलन, १० वर्षे  जनयुद्द अनि ६२/६३ को जनआन्दोलन, दुई/दुईपटकको संबिधानसभाको चुनाव अनि बन्नै नसकेको संविधान … सोचौं त ! के हाम्रो देश भुकम्प अगाडि नै ध्वस्त भएको थिएन र?

परराष्ट्र मन्त्रालयमा राहदानी लिनेको भीड, बिदेशिएका सपना र आशाहरु, राजनीतिक कोलाहल, विदेशी हस्तक्षेप, स्रोत साधनको परिचालनमा कमी, देशलाई हाँक्ने नेतृत्वमा बसेकाहरु कहिले सहमतिमा नपुग्ने  बानी, अनि आरोप प्रत्यारोप । विचार गरौं त, के हामी ध्वस्त भएका थिएनौं र पहिले नै ?

तर के हामी मध्ये कसैलाई पनि आफू ध्वस्त भएको कुरा थाहा थियो र?  हामी मान्न तयारै  थिएनौं त्यतिबेला, जतिबेला भुकम्प आएकै थिएन। फेरी भुकम्प आउँछ, उच्च जोखिममा छ भन्ने थाहा हुँदाहुँदै पनि त हामी तयार बस्न सकेनौं नि !  हामी निरीह बन्यौं प्रकृतिको अगाडि। किनकी हामी अगाडिदेखि नै ध्वस्त थियौं,  लडेका थियौं तर हामीलाई  हामी लडेका छौं भन्ने नै ज्ञान थिएन।

हामी निरिह बन्यौं, कारण हामीलाई उठाउने आशा देखाएका नेतृत्वमा बसेकाहरुले हाम्रो आशा र विश्वाशमाथि  पटकपटक तुषारापात गर्ने काम गरे। नेपाल आमाको अस्मिता माथि खेलवाड गर्ने काम गरे। हामीलाई अभिभावकबिहीन टुहुरा बालबालिका झैँ बनाए।  एकातर्फ वीर गोर्खाली, सगरमाथा र गौतम बुद्धको देश भनेर हामी नेपालीले गर्व गरिरह्यौं र अर्कातर्फबाट हामी आफैंले आफ्नै मातृभूमिको अस्मिता माथि खेलवाड गरिरह्यौं। यस्तो विकराल परिस्थितीमा प्रकृतिले हामीलाई एउटा गतिलो पाठ सिकाउन जरुरी थियो। तर हामी सिक्न तयार थिएनौं। हामीलाई त एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै ठीक थियो। त्यसैले त यो महाभुकम्प आयो हामीलाई पाठ सिकाउन । हामी कसरी ध्वस्त भएका छौं प्रकृतिले सप्रमाण देखाइदिएको छ।

हाम्रो धरोहर धरहरा भत्किएको छ । हाम्रा सम्पदाहरु भत्किएका छन्, भाँचिएका छन अनि तड्पिएका छन्। ढलेको धरहरालाई हामीले सूचक मान्नुपर्छ, हाम्रो धरोहर, हाम्रो राष्ट्रियता यति कम्जोर रहेछ भनेर। तर कमजोर छ भनेर निरास अनि हतास बनेर बस्ने बेला हैन आज । हामीले अब ध्वस्त भएको देशलाइ  बनाउने बेला हो , पीडाहरु बीच खुशी खोज्ने बेला हो। हामीले जापानबाट धेरै सिक्न सक्छौं- कसरी जापानमाथि उठेर आयो। चाहे त्यो प्राकृतिक बिपत्ति होस्  या मानव निर्मित बिपत्ति।  विश्वयुद्दमा खसेका एटम बम, पटकपटक गएका ठूलठूला भुइँचालो र सुनामी। सम्झौं न  कति बिकराल परिस्थिति  थियो जापानमा। तर जापान कहाबाट कहाँ पुगिसक्यो। यो सबै त्यत्तिकै सम्भब भएको  हैन तर असम्भब पनि त रहेनछ नि।

जापानमा २०११ को भुकम्पपछि जापानी  प्रधानमन्त्री योसिहीको नोडाले भनेका  छन्, ' हाम्रो लक्ष्य जापानलाई पुनर्निर्माण गरेर २०११, मार्च ११ भन्दा अगाडिको  जस्तो बनाउनु हैन नयाँं जापान बनाउनु छ।'  आखिर उनीहरु सफल पनि त भए। गरे के हुँदैन र ? मात्र आँट , विश्वाश र दत्तचित्त भएर लाग्ने र लगाउन सक्ने नेतृत्वको खाँचो छ। हामीसँग वीर गोर्खालीको ईतिहास छ। हामीसँग सार्वभौमिक अखण्डता छ। हामी नेपालीले कहिले झुक्न जानेका छैनौं  र यो बिपत्तिमा पनि झुक्ने छैनौं।
 
हट्ने हैन डटी लड्ने नेपाली को बानी हुन्छ
कहिले नझुक्ने शीर उठेको स्वाभिमानी नेपाली हुन्छ 

हो, हामी डटेर नयाँ नेपाल बनाउने छौं। टुटे फुटेका सपनाहरु पुनर्निर्माण गर्ने छौं। हामी उठ्ने छौं डटेर लाग्नेछौं। राहदानीको लाइन हट्ने छ लोड्सेडिङ्गको अन्त्य हुनेछ। उद्योगधन्दा कलकारखानाहरु खुल्नेछन्। सुन्दर शान्त र विशाल नेपालको निर्माण हुनेछ। लेखनाथ पौड्यालले भनेका छन्,  'ढुङ्गा कै काप फोडेर पनि उम्रन्छ पीपल।' हो, हामी नेपाली पीपल बन्ने छौं अफ्ट्यारो स्थितिबाट अगाडि बढ्ने  छौं।  


Published on Pahilopost.com on 2nd May, 2015 

Comments